काठमाडौं – नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।
पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।
यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् । यसअघि एमालेबाट राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भएका छन् ।
त्यस्तै, मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अमनलाल मोदी माओवादी केन्द्रबाट मन्त्री बन्ने भएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ।
नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भइरहेको छ। प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री लिएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो।
त्यस्तै, पर्यटनमन्त्रीमा सुदन किराँती र सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्रीको नाम भने अहिलेसम्म फाइनल भइसकेको छैन।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन मन्त्रीकाे टुंगाे लगाएकाे छ । पार्टी प्रवक्ता माेहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने पक्का भएकाे श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय भागबन्डा टुंग्याएको छ। मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा शिशिर खनाललाई पठाइने भएको छ। त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको बुर्लाकोटीले जानकारी दिए।
