प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्रीको चुनावमा सहमतिबाट अघि बढ्ने सकिने प्रस्ताव राखेका छन् ।
विश्वास मत दिने दलहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मिलेर जान प्रस्ताव गरेको जानकारी कांग्रेसका मुख्य सचेतक रमेश लेखकले दिए ।
‘कांग्रेस प्रतिपक्षी दल हो । तर प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको बारेमा छलफल गर्न तयार छौैं । प्रधानमन्त्रीले यदि छलफल गर्न तयार हुनुभयो भने । उहाँले यी पदहरूमा छलफल गरेर सहमतिमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । हामीले हाम्रो कुरा राख्यौं । विषय प्रवेश भए पनि कुनै सहमति भएको छैन ।’
प्रधानमन्त्रीले मिलेर जान गरेको प्रस्तावमा आफूहरू छलफल गर्न तयार रहेको जानकारी गराएको पनि लेखकले बताए ।
बैठकमा सहभागी माओवादी नेता एवं सञ्चार मन्त्री रेखा शर्माले पनि सबै राजनीतिक विषय र तटस्थ रहने संवैधानिक पदका विषयमा छलफल गरेर जान प्रधानमन्त्री तयार रहेको जानकारी दिइन् ।
‘प्रधानमन्त्रीले छलफलका क्रममा सबै राजनीतिक विषयमा छलफल गरेर जान सकिन्छ भन्नुभएको छ । तटस्थ रहने संवैधानिक पदका विषयमा पनि छलफल गरेर जान सकिन्छ भन्ने प्रधानमन्त्रीको कुरा हो ’ उनले बैठकपछि भनिन्,
‘असाधारण विश्वासको मत पाएपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिनुभयो । सबैसँग मिलेर जान खोज्नु उहाँको सकारात्मक प्रयास हो । सत्ता साझेदारको हिसाबले एमाले अध्यक्ष ओलीले पनि कांग्रेसका नेतालाई धन्यवाद दिनुभयो । सभामुखको विषयमा उम्मेदवारी दर्ता पछाडि पनि छलफल हुन सक्छ । प्रधानमन्त्रीमा प्रचण्डले छलफल गरे जस्तै उम्मेदवारले पनि पहल गर्ने कुरा हुन्छ । सत्ता साझेदार दलले पनि सबैबीच छलफल गरेर जानुपर्छ भन्ने मत राख्नुभएको छ ।’माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । यसको लागि बुधवार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र गरिसक्नुपर्नेछ ।
सर्वदलीय बैठकमा सहभागी भए पनि एमाले अध्यक्ष केपी ओली बैठक सकिनु आधा घण्टाभन्दा अगाडि नै निस्किएका थिए । ओली निस्किएपछि विभिन्न तटस्थ बस्नुपर्ने पद र संवैधानिक पदमा मिलेर जान सकिन्छ कि भन्ने धारणा प्रधानमन्त्री र कांग्रेस दुवै पक्षबाट आउनु अर्थपूर्ण देखिएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थिति रहेको थियो ।
