‘बेलका बाहिरको बेलका, रहिरहोस् आपसमा एकता’ भन्ने मूल नाराका साथ उदयपुरलाई कार्यक्षेत्र बनाई काठमाडौंमा सक्रिय बेलका विकास समाजले पिकनिक आयोजना गर्ने भएको छ । उदयपुर घर भई काठमाडौं बसोबास गरिरहेका बेलकाबासीलाई सहभागी गराउने गरी समाजले कार्यक्रम गर्न लागेको हो । काठमाडौंमा बेलकाबासीका लागि यो एक मात्र छाता संस्था हो ।
काठमाडौं चन्द्रागिरिको स्विट्जरल्याण्ड पार्कमा माघ १४ गते शनिबार पिकनिक कार्यक्रम राखिएको संस्थाका अध्यक्ष महेन्द्र थापाले जानकारी दिए ।
‘यो रमाइलोका लागि मात्र नभएर लामो समय भेट नभएका नगरबासीबीचको संवादहिनता तोड्ने अवसर पनि हो’, उनले भने, ‘यस अवसरमा हामीले बेलका नगरपालिकाको विकास, नगरबासीको हितखातिर हामीले गर्नुपर्ने कामबारे पनि छलफल गर्ने छौँ ।’
संस्थाले यसअघि पनि पिकनिकको अवसरमा विशेष अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।
बेलका विकास समाजले २०७६ र ०७७ मा लकडाउनका बेला अप्ठेरोमा परेका करिब ४ सय बेलकाबासीको काठमाडौंबाट उद्धार गरी आ-आफ्नो गाउँ पुर्याएको थियो । बेलका नगरपालिकासँगकाे समन्यवमा उद्धारकाे काम भएकाे थियाे ।
यसैगरी, चाैदण्डगढी नगरपालिका र बेलका नगरपालिकासँगको समन्वय एवं काठमाडौंको ओम समाज डेन्टल हस्पिटलसँगको सहकार्यमा संस्थाले गरेको दन्त शिविरमा करिब ५ सय जनाले सेवा लिएका थिए ।
यसैगरी शिक्षा, स्वास्थ्य, जनजिविकाका क्षेत्रमा नगरपालिकाका मुद्दा सिंहदरबारसम्म पुर्याउने काममा पनि बेलका विकास समाजले समन्वय गर्दै आएको छ ।
