निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी नेपाल सरकारलाई दिने व्यवस्था रहेको छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संविधानमा भएको व्यवस्था र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका व्यवस्था आपसमा बाझिएको भन्दै मिति तोक्न ढिलाइ भइरहेको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ अघि नै राष्ट्रपति निर्वाचन गरिनुपर्ने माग राखेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचन मितिबारे कुराकानी भएको थियो।
