पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताएका छन्। ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले अब नेपालको अधोगतिप्रति अब आफूहरू मौन रहन नसक्ने बताएका हुन्।
‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील् संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं,’ शाहले जारी गरेको सन्देशमा उल्लेख छ।
देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको उनले बताएका छन्।
यस्तै देश जोगाउनको लागि राजनीतिक दलहरू र राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब गर्न नहुने पनि सन्देशमा उल्लेख गरेका छन्।
‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न हुँदैन,’ सन्देशमा भनिएको छ।

