काठमाडौं – भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिव हेरफेर गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।
सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।
प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिव भट्टराई प्रदेश १ को प्रमुख सचिव र वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा काम गरिरहेका छन् । गृह मन्त्रालयमा हुँदा विभिन्न महाशाखा र कार्यालय प्रमुख भएर काम गरेका सचिव भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका हुन् ।
सहसचिव हुँदा मकवानपुर,उदयपुर, बारा, दाङलगायतको सिडिओ बनेका भट्टराईको गृहमा लामो अनुभव छ । शिक्षाका क्याडर टेकनारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिँदा बिग्रिएको गृहको ट्रयाक ठिक ठाउँमा ल्याउँन भट्टराईलाई गृहसचिवमा ल्याइएको हो । नारायणकाजीको स्पिरिटिमा काम गर्न सक्ने क्षमताका सचिव खोज्दा भट्टराई रोजाइमा परेको चर्चा छ ।
