हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने उनले बताए।
त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको पनि उनले बताए।
बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको श्रेष्ठको भनाइ छ।
यसैबीच बंगालको खाडीमा विकास भई म्यानम्यार र बंगलादेश प्रवेश गरेका ‘मोखा’ नामक शक्तिशाली चक्रवातको अब कुनै असर नेपालमा नआउने जानकारी पनि उनले दिए। ‘त्यो म्यानमारको जमिनमा झरिसकेकाले कमजोर भइसक्यो’, उनले भने, ‘त्यसको प्रभावले नेपालमा अलिअलि बादल उछिट्टिएर आएको थियो, अब भने त्यसको कुनै प्रभाव छैन।’
म्यानमार र बंगलादेशमै पनि अब त्यसको प्रभाव निकै कम भइसकेको उनको भनाइ छ।
