नेपाली फुटबल टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आगामी सिजन युरोपियन क्लबबाट खेल्ने भएकी छिन् ।
सावित्राले इजरायलको हापोएल रानानाबाट आगामी सिजनका लागि व्यवसायिक फुटबल खेल्ने भएकी हुन् । उनले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानासँग अनुबन्धन गरेकी हुन्। क्लबले मंगलबार नै सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्ध गरेको जानकारी गराएको छ।
यरोपियन क्बबमा अनुबन्ध भएसँगै सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको बताएकी छिन्।
‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ। मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो,’ उनले भनिन्, ‘यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु।’
भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएसँगै उनको चर्चा थप चुलिएको थियो। सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन्। राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्।
नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन्। उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन्।
