नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ।
पार्टीबाट निलम्बित भइसकेका नेकपा एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद रायमाझी जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार थुनामा पठाउने आदेश दिएसँगै स्वत: निलम्बित भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० देखि फरार उनलाई प्रहरीले वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट प्रक्राउ गरेको थियो।
रायमाझीसहित १६ जना अभियुक्तलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेको छ। उनी पक्राउ परेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ १ गते संसद सचिवलायमा पठाएको थियो। तर त्यसबेला उनी निलम्बनमा परेका थिएनन्।
तर, शुक्रबार जिल्ला अदालत काठमाडौंबाट उनलाई थुनामा पठाउने आदेश भएसँगै सांसदबाट निलम्बित भएका हुन्।
प्रतिनिधि सभा नियमावली २०७९ को धारा २४८ को उपधारा ३ र ४ मा यससम्बन्धी व्यवस्था गरिएको छ।
