राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालीको भान्समा भारतबाट आइरहेको विषादीयुक्त तरकारी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । भारतबाट पठाउने तरकारी तथा फलफूलमा खानै नहुने मल र विषादी प्रयोग गर्ने गरिएको उनले बताए ।
विनियोजन विधेयकअन्तर्गत प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले आफ्ना नागरिकको जनस्वास्थ्यको विषयमा ख्याल गर्न प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । ‘भारत भ्रमणमा उपलब्धी भयो भन्नुभयो । इपीजीमा के भयो ? केही भएन । हवाइ रुट पायौं ? पाएनौ । अखण्ड भारतको विषयमा प्रश्न गरियो ? गरिएन । कालापानीबाट भारतीय सेना हट्ने कुरा भयो ? भएन । तर पनि सुपरहिट भनियो’ लामिछानेले प्रश्न गरे, ‘दिल्लीमा गर्मी छ, त्योभन्दा गर्मी भएर सुपरहिट भएको होला, अरु केही भएको देखिएन । अरु नभए पनि नेपाली जनताको भान्सामा विषदीयुक्त तरकारी रोकौं ।’
नेपाल पठाउने तरकारी र भारतमा खपत गर्ने तरकारी फरक ढंगले उत्पादन गर्ने गरिएको उनले बताए । ‘जनताको स्वास्थ्यलाई त माया गरौं, प्रत्येक दिन नेपाली जनतालाई विषादी खुवाइएको छ । यो रोकौं’ उनले भने ।
