अजय महर्जन
ललितपुर- ललितपुर महानगरपालिकाले ३५ वर्षदेखि बिग्रिएर थन्किएको डेनिस नामको दमकल संचालनमा ल्याएको छ। महानगरले आज कार्यक्रमको आयोजना गर्दै उक्त दमकल संचालनमा ल्याएको हो।
प्राविधिकहरुका अनुसार यो दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो। झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडानपछि अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा पुगेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबू महर्जनले जानकारी दिए ।

ललितपुर महानगरको प्रमुखमा पहिलो कार्यकालका लागि निर्वाचित भए लगत्तै महर्जनले पुल्चोकका स्थानीय मोहनप्रसाद नकर्मीले डेनिस दकमल बनाउने प्रस्ताव गरेका थिए । ‘प्रस्ताव स्वीकार गरेको झण्डै ६ वर्षपछि बिग्रिएको दमकम बनेको छ। बनेको मात्रै होइन, पूर्ण रुपमा काम गर्न सक्ने भएको छ ।’ प्रमुख महर्जनले बताए।
‘यो दमकल प्रयोग गर्न निक्कै नै सजिलो रहेको छ । छिटो आगो निभाउन सक्ने क्षमता भएकाले विगतमा यसले आगलागीका ठूला-ठूला घटनाबाट मानववस्तीलाई जोगाएको छ ।’ एक प्राविधिकले बताए।

महानगरले प्राकृतिक प्रकोप लगायत अन्य विभिन्न खालका प्रकोपहरुबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध ढंगबाट गम्भीरतापूर्वक काम गरिरहेको छ । प्रकोपका कारण हुनसक्ने क्षति सकेसम्म न्यून गर्न आवश्यक पर्ने अवयवहरुलाई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित जुद्धवारुण यन्त्र कार्यालयको एकै छानामुनि राखेको छ।
दमकल, एम्बुलेन्स, शववहान सहित प्रकोपका बेला महत्वपूर्ण जिम्मेवारी वहन गर्ने जनशक्ति नगर प्रहरी समेत एकै छानामुनि राख्नुको मुख्य उद्देश्य आवश्यक परेको समय र ठाउँमा नगर प्रहरी सहित आवश्यक अवयवहरु एकैपटक पुग्न सकून भन्ने रहेको छ ।



