यतिबेला (बिहीबार बिहान) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।
बागमतीअन्तर्गत काठमाडौं उपत्यकामा पनि अहिले वर्षा भइरहेको उनले बताए। ‘उपत्यकाको उत्तर–पश्चिमतिर अहिले वर्षा भइरहेको देखिन्छ’, उनले भने, ‘पूर्वतर्फ भने मौसम बदली मात्र छ, पानी परेको छैन।’
मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम सामान्य बदली हुने र पानी पर्ने सम्भावना छ। दिउँसो पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई पहाड र तराईमा पानी पर्ने सम्भावना छ। राति देशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको हो। कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। ‘काठमाडौं उपत्यकामा आज दिउँसो तथा राति पनि वर्षाको सम्भावना छ’, मौसमविद् लामिछानेले भने।
