प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सय किलो सुन तस्करी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताबिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले राष्ट्रियसभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशरण महतलाई जानकारी नभई यति ठूलो परिणाममा सुन तस्करी हुनै नसक्ने बताए ।
सांसद दाहालले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गरे । उनले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए । उनले सुन तस्करीकाण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रियसभा सदस्यहरु पनि रहनुपर्ने माग गरे ।
सांसद दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भए पनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताए ।
