काठमाडौँ – शान्ति मिसनमा गएका एक नेपाली सेनाले आत्महत्या गरेका छन्। संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडान शान्ति मिसनमा गएका अमल्दार रामबहादुर बाँठाले आत्महत्या गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
जाजरकोटको खलंगा गाउँपालिका ६ निवासी श्री शेरगण बाह्रौँ डफ्फाका अमल्दार बाँठा हिजो मृत भेटिएका हुन्। उनको शव दक्षिण सुडानको रुम्बेकस्थित गण हेटक्वाटरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको सेनाको निमित्त प्रवक्ता एवं महासेनानी अशोक गुरुङले जानकारी दिए।
शवको पोष्टमार्टम रिपोर्ट नआए पनि घटनाको प्रकृति हेर्दा हत्या जस्तो नदेखिएको चिकित्सकको भनाइलाई उद्यृत गर्दै महासेनानी गुरुङले बताए। अहिले मृतक बाँठाको शव पोष्टमार्टम र अनुसन्धानका क्रममा रहेको सेनाले बताएको छ।
पोष्टमार्टमपछि उनको शव स्वदेश ल्याउने तयारी भइरहेको निमित्त प्रवक्ता गुरुङले बताए।
