सीके राउत नेतृत्वको जनमत पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पुनः सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिँदैछिन् ।
शितलनिवासमा बिहान १०ः०० बजे शपथको कार्यक्रम छ । माओवादी केन्द्रको जनमतका लागि स्थान खाली गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको थियो । सोही मन्त्रालयको जिम्मेवारी साहले पाउन लागेको बताइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए। उनले भने, ‘हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।’
जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले बताइन् ।
‘पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ’, उनले भनिन्, ‘पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।’
साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छिन् । उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएकी थिइन् । धनुषा जिल्लाको पार्टी इन्चार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।
यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् ।
विसं २०३९ मा औरही गाउँपालिकामा जन्मेकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छिन् । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गर्नुभएका उनी एक दशक महिला अधिकार र समाजसेवासम्बन्धित काममा आबद्ध थिइन् ।
