नेपाली उत्पादनलाई प्रोत्साहन गर्न मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ आयोजना गर्न लागिएको छ । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्य एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा संचालनमा ‘मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पो २०८१’ गर्न लागिएको हो ।
प्रदर्शनी माघ १० गतेदेखि १२ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको जनाइएको छ । यस विशेष प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हामै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखिएको जनाइएको छ। मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह विश्वास गरिएको छ ।
त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले स्वदेशी उत्पादनको प्रचार-प्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्नेछ । एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रबर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्नेछ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन जस मध्य ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने छन । जसमा २०,००० भन्दा बढी अबलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
