काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा रहेको यो रोपवे अहिले जीर्ण संरचना र सम्झनामा मात्र बाँचेको छ।
वि.सं. १९७९ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा धोर्सिङ–मातातीर्थ खण्डबाट सुरु गरिएको यो प्रविधि पछि वि.सं. २०१६ मा अमेरिकी सहयोगमा विस्तार भई हेटौंडासम्म जोडिएको थियो। करिब ४२ किलोमिटर लामो यो रोपवेले कठिन भूगोलबीच काठमाडौं उपत्यकाको जनजीवन धान्न महत्वपूर्ण भूमिका खेलेको थियो।
सडक सञ्जाल विकसित नभएको समयमा हेटौंडाबाट खाद्यान्न, निर्माण सामग्री तथा इन्धन ढुवानी गर्न यो सबैभन्दा सस्तो, भरपर्दो र प्रभावकारी माध्यम थियो। प्रति घण्टा करिब २५ टनसम्म सामान ओसार्ने क्षमता भएको यो प्रणालीले राजधानीमा अभाव हुन नदिने मुख्य भूमिका निर्वाह गरेको थियो।
तर, वि.सं. २०५६ देखि पूर्ण रूपमा सञ्चालन बन्द भएपछि यसको अस्तित्व संकटमा पर्दै गएको छ। मर्मत सम्भारको अभाव, सडक सञ्जालको विस्तार र व्यवस्थापकीय कमजोरीका कारण यो ऐतिहासिक सम्पदा अहिले कवाडीमा परिणत हुँदै गएको छ।
भीमफेदी, धार्के र टेकुका स्टेसनहरू जीर्ण अवस्थामा पुगेका छन् भने आकाशमा झुण्डिएका तार र टावरहरूले मात्र यसको गौरवपूर्ण विगतको कथा सुनाइरहेका छन्। कुनै समय जनजीवनको आधार बनेको रोपवे आज संरक्षणको पर्खाइमा मौन उभिएको छ।

