काठमाडौं – इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारी भेषमा सजाएर विधिपूर्वक पूजा गरिएको हो।
नेवार समुदायमा कुमारी पूजाको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। कुमारी पूजा गर्दा सुख–शान्ति र समृद्धि प्राप्त हुने तथा बालिकाहरू रोगबाट सुरक्षित रहने धार्मिक विश्वास रहेको छ। साथै, कुमारीको पूजा गरेमा तलेजु भवानीले बालिकाहरूको रक्षा गर्ने जनविश्वाससमेत रहेको छ।
इन्द्रजात्राका अवसरमा हनुमानढोका दरबार क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि आयोजना गरिन्छन्। कुमारी पूजा पनि इन्द्रजात्रासँग जोडिएको महत्वपूर्ण परम्पराका रूपमा रहँदै आएको छ।

