बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय तथा परिष्कृत बनाउँदै सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सम्प्रेषणमा सहजता प्रदान गर्ने उद्देश्यले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सुरु भएको छ।
श्री मध्य पूर्वी पृतना हे.क्वा., बर्दिबासमा चार दिनसम्म सञ्चालन हुने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme–DCOP)’ को मंगलबार पृतनापति उपरथी भुवन खत्रीले शुभारम्भ गर्नुभयो।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना सञ्चारकर्मी सहभागी छन्। कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिका विषयमा जानकारीमूलक प्रस्तुतीकरण गरिने नेपाली सेनाले जनाएको छ।
त्यस्तै, विपद् प्रतिकार्य, नेपाली सेनाको कार्यक्षेत्र तथा समसामयिक विषयमा सञ्चारकर्मी र नेपाली सेनाबीच अन्तरक्रियासमेत सञ्चालन गरिनेछ।
अभिमुखीकरण कार्यक्रमले नेपाली सेना र सञ्चारमाध्यमबीचको समन्वय तथा समझदारी थप सुदृढ गर्दै सेनासम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीलाई आवश्यक आधारभूत जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

