काठमाडौं – सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा यो प्रणाली लागू हुनेछ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक सबै यात्रुवाहक सवारीसाधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने मन्त्रालयको भनाइ छ।
यस्तै २०० बढी सक्रिय संक्रमित भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिने मन्त्रालयले जनाएकाे छ।
लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो ।

