डम्बर निदाल, डडेल्धुरा – डडेल्धुरामा लकडाउन खुले पछि नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको छ । अहिले दिनहु जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको भिड लाग्ने गरेको छ । चार महिना पछि लकडाउन खुले पछि नागरिकता बनाउने स्थानियको संख्या ह्वात्तै बढेको हो ।
लकडाउन हुनु पुर्व सामान्य अबस्थामा दैनिक ३० देखी ३५ जना मात्रै नागरिकता बनाउन प्रशासन पुग्थे । चार महिना सम्म भएको लकडाउन खुले पछि दैनिक ७० देखी ८० भन्दा बढी स्थानिय नागरिकता वा प्रतिलिपि बनाउन प्रशासन कार्यालयमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए ।
स्थानिय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नाम दर्ता गराउन नागरिकता आवश्यक पर्छ । यस कारण पनि नागरिकता बनाउने युवाको संख्या बढेको छ ।
कोरोना भाईरसको जोखिमका कारण भारतमा रोजगारी गर्न गएकाहरु घर फर्किएका छन । नागरिकता नबनाई सानैमा भारत गएका युवाहरु पनि अहिले नागरिकता बनाउन थालेका छन ।
नागरिकता लिने सेवाग्राहीहरुले सामाजिक दुरीको पालना नगर्नुका साथै सेवा लिने ठाउमा अनावश्यक भिडभाड हुने गरेकाले स्वास्थ्य सावधानी समेत नअपनाउँदा कोरोना भाईरस संक्रमणको जोखिम हुन सक्ने एक सेवा ग्राहीले बताए ।
नागरिकता बनाउने बढे संगै जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढेको छ । कोरोना भाईरस संक्रमणको जोखिम रहेकै बेला भौतिक दुरीका साथै मास्कको अनिवार्य प्रयोग गराउन थालिएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए । यसका लागी सुरक्षाकर्मी समेत परिचालन गर्नु परेको उहाँले बताए ।
