काठमाडौं – विश्व बैंकले कृषि क्षेत्र सम्बन्धित परियोजनाका लागि नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनर्स्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।
यो कार्यक्रम अन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना गरिने विश्व बैंकले जनाएको छ । ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवर्द्धन गर्ने विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्रामीण उत्पादनको अभिवृद्धि, रोजगारी सिर्जना तथा साना किसान र संस्थागत खरिदकर्ताबीच दीगो सम्बन्ध स्थापित गर्न सहयोग गर्ने विश्व बैंकले जनाएको छ ।
यो परियोजना प्रदेश एक, दुई, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ ।