डम्बर निदाल
डडेल्धुरा – ऐतिहासिक पर्यटकिय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरि अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । अमरगढी किल्ला भित्र निर्माण गरिएको कोत घरलाई नेपाली सेनाले विहिबार अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

पुरातात्विक अमरगढी ढुंगे बिशाल किल्ला भित्र गत आर्थिक वर्षमा निर्माण कार्य शुरु भई तयार भएको गट्ठाघर अथवा कोतघर सम्बन्धित स्थानीय तह अमरगढी नगरपालिकाका प्रमुखलाई औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरेको हो ।
हाल केहि पुस्तकहरुका साथ शुरु भएको पुस्तकालय स्थापना सहित कोत घर गाउँघरका घर जस्तो पुरानोशैलीमा नेपाली सेनाको सिमिक (जनता सेना साझेदारी) कार्यक्रम अन्र्तगत करिव २० लाख रुपैयाँको लागतमा निर्माण भएसँगै पर्यटकलाई किल्लाका बारेमा जानकारी लिन सहज भएको छ ।
हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मल कुमार थापाले अमरगढी किल्लामा बनेको कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गर्ने बताएका छन । देशभरीमा जिवित रहेको एउटा मात्रै किल्ला अमरगढीलाई संरक्षण गर्नु पर्ने सवैको दायित्व रहेको र अवलोकन गर्नका लागि आउने पर्यटकहरुलाई अमरगढी किल्लाको बारेमा जानकारी गराउने गरि अमरगढी किल्लालाई व्यवस्थित बनाउने र अमरसिह थापाद्धारा युद्धमा प्रयोग भएका हातहतियारहरुको खोजी गरि कोतघरभित्र संग्राहलय निर्माण गरि राखिने समेत अमरगढी नगरपालीका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
विक्रम सम्वत १८४७ मा कर्णाली पश्चिममा नेपाल एकिकरणको शिलशिलामा महाकाली पारी कुमाउ आक्रमण गर्दाका समयमा अमर सिह थापाले यो किल्लाको निर्माण गरेका थिए । पछि उनकै नामबाट किल्लाको नामाकरण गरिएको थियो । नेपाली सेनाले टेण्डर द्वारा निर्माण कार्य थालनी गरे पछि बनिसकेको भवन वर्षातमा भत्किए पछि पुर्ननिर्माण गरि बर्तमान कोतघर तयार गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको रणवम गणले कोतको घरको निर्माण कार्य सम्पन्न गरेसँगै आन्तरिक व्यवस्थापन र तत्कालिन हातहतियार पनि खोजी गरि पर्यटकिय अबलोकनका लागि आकर्षण थप्न सम्बन्धित निकायले ध्यान दिनु पर्ने स्थानीयको भनाई छ ।
