डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लामा एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागेको हो ।
कोरोना भाईरसको संक्रमण बाट जोगिन यहाँका १३ वटा सार्वजनिक स्थानमा हात धुने अड्डा बनाईन लागेको जनाएको छ ।
अहिले सरकारी कार्यालय लगायत बिभिन्न संघ संस्थाहरु आफैले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन । सार्वजनिक स्थल र केही सरकारी कार्यालय बाहिर भने ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले हात धुने अड्डा बनाउन लागेको हो ।
खुट्टाले च्याप्दा पानी आउने हात धुने अड्डा बनाउन लागेको रुडुकले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखी हात धुने अड्डा बनाईन लागेको छ ।
यसैगरी जिल्लाको गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई वटा स्थान र नवदुर्गा गाउँपालिकाको एउटा स्थानमा हात धुने अड्डा बनाईने जनाएको छ ।
जिल्ला सदरमुकाम बसपार्क, नापी, मालपोत कार्यालय लगायतका स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ । रुडुक द्धारा सञ्चालित स्वच्छताका लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम अन्तरगत हात धुने अड्डा बनाईएको कार्यक्रम संयोजक अनुप सिंहले बताए ।
यसै कार्यक्रम अन्तरगत रुडुकले एक हजार घर धुरीमा बाल्टि र साबुन पनि वितरण गरेको छ ।
