काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल आफ्नै प्रेस सल्लाहकारबाट दुरुपयोग भएको पाइएको छ ।
‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगलवार असम्बन्धित ट्वीट भएपछि सामाजिक सञ्जालमा प्रश्न उठेको थियो । तत्पश्चात् सो ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बालुवाटार स्रोतले जनाएको छ । अहिले सो ट्वीट हटाइएको छ ।
हटाइएको ट्वीटमा पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको तर्फबाट शुभकामना दिइएको थियो ।
यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुशी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको थियो। जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।
कसरी प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट हुन पुग्यो भनेर भन्ने बारेमा थापा बोलेका छैनन् । यसअघि पनि पीएम नेपाल भन्ने ट्वीटर अकाउण्टबाट असम्बन्धित ट्वीट आएको थियो ।