काठमाडौँ – सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ।
वामदेव मुद्दामा बहस बाँकी नै भएकाले अर्को सुनुवाइका लागि आजलाई पेशी तोकिएको हो। अब वामदेव र सरकारका कानुन व्यवसायीको बहस पैरवी सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि मात्र मुद्दाको निर्णय हुनेछ।
अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको थियो। अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म वामदेवले कुनै जिम्मेवारी पाउने छैनन्।
न्यायाधीश तथा अदालतमा कार्यरत् केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो।
