काठमाडौं – फेसबुक लगायत सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट नेपालबाटै गर्न मिल्ने भएको छ ।नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्त कम्पनीले जारी गरेका कार्डमार्फत् फेसवुक, ट्वीटर, यूटुबजस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्न सकिने व्यवस्था गर्ने भएको हो ।
केन्द्रीय बैंकले बिहीबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गर्दै ‘अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने’ उल्लेख गरेको छ ।
जसअनुसार अब नेपाल कै बैंकहरुले जारी गरेका कार्डको प्रयोग गरी सामान तथा वस्तु आयात र सामाजिक सञ्जालमा विज्ञापन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रिपेड कार्ड वाणिज्य बैंकहरुले मात्र जारी गर्न पाउने भएकाले राष्ट्र बैंकले केही समयपछि नै डलरकार्डको व्यवस्था गरी सबै बैंक तथा वित्त कम्पनीहरु मार्फत् सो सुविधा लिन पाउने व्यवस्था गर्ने उनको भनाइ छ ।
हाल नेपालमा विदेशी बैंकहरुमा खाता खोली विदेशी अनलाईनबाट सामान खरिद गर्ने, सामाजिक सञ्जालमा विज्ञापन तथा बुस्ट गर्न गरिएको छ । जसमा गत वर्ष राष्ट्र बैंकले कढाइ गर्ने समेत भनेको थियो ।
राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले हाल नेपालबाट सामाजिक सञ्जालमा गरिने विज्ञापन तथा बुस्टको भुक्तानीमा बाहिरीने रकमलाई व्यवस्थित गर्ने राष्ट्र बैंकको विस्वास छ ।
