चट्ट स्वादिलो पुदिनाको अचार सबैलाई मन पर्छ । अझ टमाटर र टिमुरको दाना मिसाइएको भए त झन खानबाट आफूलाई रोक्न नै सकिन्न । तर पुदिना केवल स्वादिलो मात्र होइन गुणकारी पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन गरिन्छ । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् ।
कस्ता छन् पुदिनाका फाईदाहरू
१ अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
२ निकै बाडुल्की लाग्ने समस्या भएमा पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् । सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
३ ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पुदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।
४ प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ ।
५ खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
