काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोभिडको कारण रोजगारी गुमाएका र कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जान नपाएका नेपालीहरुको अवस्था संसदलाई जानकारी गराउन माग गरेका हुन्।
दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनले बताए।
‘यिनीहरूका बारेमा लगातार सरकारले वेवास्ता गरेको छ। फिलिपिन्सलगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनीहरूले कोरिया जान पाइसकेको हुन्थे,’ उनले भने।
भाषा परीक्षा उत्तिर्ण गरेकाहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।