काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिए ।
सरकारले मुख्य शहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन शुरू गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उनले जानकारी दिए ।
परीक्षा सञ्चालनका लागि आवश्यक तयारी समेत गरिएको उनले बताए । सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ ।
गत वर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो । १२ कक्षाको परीक्षा बोर्डले नै सञ्चालन गरेको थियो ।