काठमाडौं – एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट कोरोनाविरुद्धको खोप ल्याउन विपक्षीले अवरोध गरेको दाबी गरेका छन्। एमालेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप आउन नदिन विपक्षी गठबन्धनले लविङ गरेको आरोप लगाएका हुन्।
उनले विपक्षीले खोप रोक्न प्रयत्न गरेपनि पर्सीदेखि कोभिड-१९ विरुद्धको आवश्यक खोप आइपुग्ने जानकारी दिए । ओलीले नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेकोले केहि समस्या देखिएको बताए ।
‘भारतबाट कोभिड विरुद्धको खोप आउन नदिन विपक्षी गठबन्धनको लविङ छ।’ओलीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘सरकारको लोकप्रियता बढ्छ भनेर यो सबै भइरहेको छ, राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन्।’
उनले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अराजनीतिक क्रियाकलाप भएको दाबी गरे। ओलीले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू जानु लाजमर्दो भएको बताए।
