रामेछाप- रामेछापको मन्थलीमा १५ शैया क्षमताको प्राथमिक अस्पताल निर्माण हुने भएको छ । झण्डै डेढ बर्षमा निर्माण पुरा हुने उक्त अस्पतालको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले बुधबार मन्थलीमा शिलान्यास गर्नुभएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिरकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत भारतीय सहयोगमा निर्मााण हुने उक्त अस्पताल पुरा भएपछि जिल्ला सदरमुकाममा सुविधा सम्पन्न पूर्वाधारयुक्त स्वास्थ्य सेवा प्रवाह गर्नका लागि मद्धत पुग्ने बस्नेतले वताउनुभयो । भवन निर्माणको कार्य २०७९ मंसिर मसान्तमा सक्ने लक्ष्य रहेको छ ।
वस्नेतले जिल्ला सदरमुकाममा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रले भवन लगाएतका पूर्वाधारको अभावमा निकै कठिनाईका साथ सेवा प्रवाह गर्दै आएको अवस्थामा सुविधा सम्पन्न भवन निर्माण हुने कुराले खुसी भएको वताउनुभयो । उहाँले अस्पताल भवन पुरा भएपछि विशेषज्ञ चिकित्सक सहितको सुविधा सम्पन्न अस्पताल संचालन गर्नका लागि मन्थली नगरपालिकाको योजना रहेको वताउनुभयो ।
वस्नेतले भवन निर्माण तोकिएको समयमा सम्पन्न गर्न र गुणस्तरमा कुनै कन्ज्यूस्याई नगर्नका लागि निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । भवन लगाएतका पूर्वाधारको अभावमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई २०७८ श्रावण देखि १५ शैयाको अस्पतालको रुपमा संचालन गर्ने नगरपालिकाको योजना कार्यान्वयनमा आउन सकेको छैन ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का ईन्जिनियर सुरेशकुमार थापाले भवन सिलान्यास कार्यक्रममा प्राविधिक पक्ष माथि प्रकास पार्नुभएको थियो । थापाका अनुसार अस्पताल भवन निर्माणका लागि ९ करोड ३२ लाख ५० हजार ९ सय ८६ रुपैयामा निर्माण सम्झौता भएको छ । भवन निर्माणमा गाल्वा लालशुभ मेन्द्रो निर्माण सेवाले काम गर्नेछ । निर्माण व्यवसायी बद्री खड्काले तोकिएको समय सिमामै अस्पताल भवनको निर्माण पुरा गरी हस्तान्तरण गर्ने प्रतिवद्धता प्रकट गर्नुभएको थियो ।
थापाका अनुसार भवनमा असक्तहरुका लागि ¥याम्प, विरामी जाँच्ने, सुत्केरी गराउने कक्ष, विरामी राख्ने शैयाहरु , बैठक कक्ष र प्रयाप्त सौचालय लगाएतका सुविधा हुनेछन् । उक्त भवन निर्माणकै क्रममा फर्निचर, बेड र सामान्य स्वास्थ्य औजारहरु समेतको व्यवस्था छ ।
प्राधिकरणले भारतिय सरकारकै सहयोगमा मन्थली नगरपालिका ११ गेलुको साँवाडाडामा प्राथमिक अस्पताल सहित अन्य ४ वटा स्वास्थ्य चौकीको निर्माण थालेको छ । जिल्लामा हाल मन्थली सहित २२ वटा स्वास्थ्य संस्थाको पुननिर्माण प्राधिकरण मार्फत हुदै गरेको जानकारी कार्यक्रममा दिइएको थियो ।
