बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिएको छ।
यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। अहिले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म् वर्षा भइरहेको छ।
‘हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिन्छ।
सोमबार र मंगलबार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिन पोस्ट मनसुन–२ मा भनिएको छ।
‘बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ।
तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ।