काठमाडौँ – अमेरिकाबाट १२ वर्षमाथि देखि १७ उमेर समूहका बालबालिकालाई लगाउने कोभिड-१९ विरुद्दको १ लाख डोज फाइजर- बायोएनटेक खोप नेपाल आइपुगेको छ। सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप नेपाल भित्रिएपछि नेपाल आइपुगेसंगै त्यसलाई सुरक्षित तरिकाले भण्डारण गरिएको छ।
अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको हो । नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने भएको छ ।

खोपको पहिलो मात्रा यहि कार्तिक २८ गते विश्व मधुमेह दिवसको अवसर पारेर मंसिर ३ गतेसम्म दिर्घ रोगीहरूलाई लगाइने भएको छ । त्यसपछि बचेको खोप मंसिर ४ गतेदेखि ६ गते सम्म बाँकी दिर्घरोगीलाई प्राथमिकता राख्दै १२-१७ उमेर समूहका अन्य व्यक्तिलाई लगाइने स्वास्थ्य विभागले जनाएको छ।
त्यसै पहिलो मात्रा लगाएको २१ दिन देखि २८ दिनपछि दोस्रो मात्रा लगाउन सकिन्छ। त्यसको लागि मंसिर २७ देखि पौष ५ दिनसम्मको लागि मिति तोकिएको छ।

१२ बर्षमाथिकालाई लगाउन स्वीकृत फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।
विगतमा नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नहुँदा नेपालले अमेरिकी सहयोगमा मोडेर्ना वा फाइजर भ्याक्सिन प्राप्त गर्न सकेको थिएन । त्यसैले अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन भ्याक्सिन सहायतामा उपलब्ध गराएको थियो ।

अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका अमेरिकी नागरिकले यसअघि नै लगाइसकेको छ । यूएस फुड एन्ड ड्रग एडनिनिस्ट्रेसनले १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन पूर्ण अनुमति दिइसकेको छ भने १२ वर्ष पुगेकालाई भने अनुगमनसहितको पूर्ण अनुमति दिएको छ । उक्त संस्थाले खोपकै कारण युवामा साइड इफेक्टका रूपमा मुटुमा समस्या नदेखिएको पनि स्पष्ट पारेको छ ।
सरकारले बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको बताइएको छ। त्यसबाहेक कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।
