काठमाडौं – प्रहरीले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारबाहीको सक्रियता फेरि बढाएको छ ।
सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि कारबाही तीव्र पारेको हो ।
गत वर्षको २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएयता आइतबारसम्म विप्लव समूहका १ हजार १ सय ७२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेका आधाभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेशसमेत गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापाले विध्वंसात्मक गतिविधि गर्नेउपर प्रहरी कारबाही प्रभावकारी भइरहेको र त्यस्ता गतिविधिलाई पूर्णतः निस्तेज पार्ने बताउँदै आएका छन् । थापाले त्यस्ता समूह छिन्नभिन्न भइसकेको दाबीसमेत गर्दै आएका छन् ।
सरकारले विप्लव समूहसँग वार्ता गर्न भन्दै सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तर, अहिले पाण्डे नेतृत्वको वार्ता समिति पटक–पटकको प्रयास असफल भएपछि निष्क्रियजस्तै छ ।
२७ मंसिरमा धनुषामा प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा विप्लव समूहको संलग्नता आशंका गरेको प्रहरीले सो घटनापछि विप्लव समूहमाथि निगरानी बढाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय बताउँछ ।
सो क्रममा प्रहरीले आइतबार राजधानीको बूढानीलकण्ठबाट बम बनाउँदै गरेको अवस्थामा विप्लव नेतृत्वको नेकपाका पाँचजनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको विशेष ब्युरोले एक घरको कोठामा बम बनाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा युवा संगठनका केन्द्रीय सचिव शिशिर भनिने सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्ती मगर, सोलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ छन् ।
उनीहरूको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थसमेत प्रहरीले नियन्त्रणमा लिएको समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।