डा. शिवराम खतिवडा, ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहि

शरीरमा रहेका जोर्नीका हड्डी, कुरकुरे हड्डी, स्नायुलगायत अन्य अवयवमा कुनै असर पर्नगएमा जोर्नीकोदुखाई महसुस हुन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई आरथ्राइटिस भनिन्छ। हाडजोर्नी दुख्ने समस्या एक आम समस्या हो ।

करिब बिस प्रतिशत जनतामा कुनै न कुनै खाले जोर्नीको समस्या हुन सक्ने अध्ययनहरुले देखाएका छन् ।

यस्तो समस्या देखिने प्रमुख स्थानहरु क्रमश: औला, घुडा, नितम्ब, घाँटी र कम्बर पर्दछन । यस्तो समस्यामा धेरै जसो हड्डी खिइने कारणले गर्दा हुन्छ जसलाई मेडिकल भाषामा ओस्टियोआरथ्राइटिस भनिन्छ ।

करिब चार प्रतिशत जनतामा हड्डी खीइने समस्या हुने गरेको पाहिन्छ । जोर्नीसमन्धी समस्याले गर्दा सम्बन्धित अंगलाई संचालन गर्न तथा दैनिक काम गर्न कठिन हुन्छ ।उपचार नगरेमा कतिपय अवस्थामा शरीर संचालन गर्न नसकिने अवस्था पनि सिर्जना हुनसक्छ ।

जोर्नीजन्य समस्याका लक्षण:

सामान्यतया देखिने प्रमुख लक्षणहरु यस प्रकार छन्:

१. जोर्नी वा आसपासको भाग दुख्ने, दुखाई कहिले एकनास हुने वा कहिले घटबढ पनि हुनसक्ने हुन्छ,

२. जोर्नी सुन्निने वा रातो हुने, कसैकसैमा अन्य भाग पनि सुनिने हुन्छ,

३. सम्बन्धित भागलाई पुरा संचालन नसकिने, दैनिक काम गर्न सहज नहुने,

४. मेरुदण्ड/ढाडमा असर भएको अवस्थामा हात र खुट्टा झमझमाउने वा कमजोर हुने आदि हुने गर्दछ ।

 

आयुर्वेदिक उपचारको प्रभावकारिता:

आयुर्वेद अस्पतालमा उपचार गर्न आउने बिरामी मध्ये हाड-जोर्नी-नसा सम्बन्धि समस्या (वातजन्यव्याधि) का मानिसको संख्या उल्लेख्य रहने गरेको पाहिन्छ ।आयुर्वेदिक उपचारबाट बाट यस्तो समस्याको छुटकारा पाउन सकिन्छ ।

जटिल अवस्थाको रोगको असर कम गर्न ।जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार घुडाखिइने समस्यामा आयुर्वेदिक उपचार बिधिको सकारात्मक प्रभाव अन्य उपचार विधिको भन्दा राम्रो देखिएको छ।*

 

कारक तत्व:

जोर्नीजन्यसमस्याको प्रकृति अनुसार व्यक्तिविशेषको समस्याको कारण फरक फरक पर्न सक्छ । केहि प्रमुख कारकतत्व यस प्रकार छन्:

१. उमेर तथा लिंग: जोर्नी दुख्ने समस्या युवामा भन्दा प्रौढमा र पुरुषमा भन्दा महिलामा बढी हुने गर्दछ ।

२. हड्डी खिइनु: हड्डी खिइने (सन्धिवात) रोगजोर्नी दुख्ने बिमारको प्रमुख कारण बन्न पुगेको छ। उमेर र तौल बढ्नेलगायत कारणले पनि हड्डी खिइने समस्या बढेको हुन्छ । घुँडा, नितम्ब, काध आदिको जोर्नीमा यस्ता समस्या बढी पाहिन्छ ।

३. सम्बन्धित अन्य रोग:  सयभन्दा बढी रोगक अवस्थामा जोर्नी दुख्ने समस्या हुने गरेको अध्ययनहरुले देखाएका छन् ।जोर्नीलाई असर पार्ने रोग (मेरुदण्डको डिस्क सर्ने/नसा च्यापिने, वातरक्त/युरिक एसिड, आमवात, आदि) र अन्य रोग (संक्रमण, अर्बुद, सोरायसीस, ल्युपस आदि) मा जोर्नी दुख्ने समस्या हुने गर्दछ ।

४. तौल बढी हुनु:  तौल बढी भएमा शरीर असन्तुलित बन्न सक्छ साथै शरीरको तल्लो भागमा बढी चाप पर्न जान्छ जसले जोर्नीजन्य समस्या पैदा हुनपुग्छ ।

५. असन्तुलित जीवनशैली तथा खानपिन: असन्तुलित किसिमले कामधन्दा वा व्यायाम गर्दाको कारणले शरीरका संरचनामा पर्ने असर, बस्दा वा सुत्दा ख्याल नगर्नाले हुने असन्तुलन आदि । असन्तुलित वा हानिकारक खानपिन (असन्तुलित आहार, कम वा अतिमात्र, बिरुद्ध आहार आदि)ले गर्दा पनि यस्ता समस्या सिर्जना गर्न सहयोग गरेको हुन्छन ।

६. चोटपटक/दुर्घटना: दुर्घटनाजन्य कारणले हुने समस्या बढ्दै गएका छन् ।

 

रोग निदान/निर्क्यौल (डायोग्नोसिस) :

बिरामीको लक्षण वा चिन्हको आधारमा स्वास्थ्यकर्मीको जाँच बाट मात्रै पनि कतिपय रोग छुट्याउन सकिन्छ।आवस्यक देखिएमा चिकित्सकले उपयुक्त किसिमका परिक्षण सिफारिस गर्न सक्छन। सम्बन्धित भागको एक्स-रे वा अन्य विकिरणजन्य परिक्षणतथारगत आदिको जाँच गरेर रोग निर्क्यौल गर्न सकिन्छ ।

 

उपचार विधि:

जोर्नी दुख्ने लक्षण बोकेका बिरामीको रोगको प्रकृति हेरेर र कारकतत्व बुझेर सोहि बम्मोजिम उपचार गर्नु पर्दछ। उपचारको उदेस्य रोगकम गर्नु, शरीरको क्षमता सुधार गर्नु र बिरामीको क्रियाशीलता बढाउनु हुन्छ । उपचारमा निम्न मध्येका एक वा धेरै तरिकाको आवस्यकता पर्न सक्दछ:

१.औषधि: बिरामीको र रोगको अवस्था बुझेर उपयुक्त औषधिको उचित मात्रामा प्रयोग गर्नु पर्दछ ।दुखाइ कम गर्ने औषधिको मात्र प्रयोग गरेर रोग निको नहुन सक्छ ।आयुर्वेद सम्मत निर्मित औषधिहरुलाई चिकित्सकको सल्लाह अनुसार प्रयोग गरेर उपचार गर्न सकिन्छ ।यस्ता समस्यामा आयुर्वेदमा प्रयोग हुने प्रचलित केहि औषधिहरुमा अश्वोगन्धा चुर्ण, योगराज गुग्गुलु, कैशोर गुग्गुलु, सिंहनाद गुग्गुलु, महारास्नादी काडा, महानारायण तेल आदि पर्दछन ।नराम्रो हानी नहोस र रोग निको होस् भन्नका लागि चिकित्साको सल्लाह बमोजिम उपयुक्त किसिमले तोकिएका औषधि प्रयोग गर्नु पर्दछ ।

२. पंचकर्मजन्य थेरापी : रोग र बिरामीको अवस्था बमोजिम चिकित्सकको सल्लाह अनुसारको उपयुक्त कर्म/थेरापी गर्नु पर्दछ जसले गर्दा रोगबाट चाडै मुक्ति पाउन सकिन्छ । यस्ता विधिमा उपयुक्त जडिबुटी वा औषधिको प्रयोग गर्ने, सेक्ने, उपयुक्त किसिमले मालिस गर्ने तथासंचालन गर्ने  गरिन्छ ।सामान्यतया यस्ता समस्याहरुमा आयुर्वेद अस्पतालहरुमा उपलब्धप्रचलित पंचाकर्म थेरापीहरुमा अभ्यंग, स्वेदन (पिण्ड स्वेद/ नाडी स्वेद आदि), कटि/जानु/गृर्वा वस्ती, वमन, विरेचन, वस्तीआदि पर्दछन ।चिकित्सकको सल्लाहमा रोग अनुसार उपयुक्त किसिमको कर्म/थेरापी गरेर शरीरको क्षमता वृद्धि गर्न र रोग निवारण गर्न सकिन्छ ।

३. योग आसन: उपयुक्त किसिमको योग आसनको तोकिए बमोजिम प्रयोग गरेर सम्बन्धित भागलाई बलियो पार्न, सामान्य किसिमले संचालान गर्न र रोगबाट मुक्ति पाउन सकिन्छ । यस्तो योगहरु गर्दा जोर्नी तथा नसामा हानी नहुने किसिमले चिकित्सक वा सम्बन्धित शिक्षक (थेरापिस्ट)ले बताए बमोजिम सम्यकपुर्वक गर्नु पर्दछ।

४. अक्युपन्चर: कतिपय अवस्थामा उपयुक्त किसिमको अक्युपन्चर सेवा लाभदायक हुन्छ ।

५.सर्जरी/अप्रेशन: कतिपय अवस्थामा बिरामीलाई सर्जरी/अप्रेसन (शल्य चिकित्सा)को पनि आवस्यक पर्न सक्छ ।

रोकथाम:

उपयुक्त किसिमको खानपिन गरेर, नियमित मध्यम खालको उपयुक्त योग व्यायाम लाई सन्तुलित ढंगले गरेर, सकारात्मक जीवन शैली अपनाएर (बस्ने, सुत्ने, काम र व्यायाम गर्ने तरिकामा ख्याल गरेर), समय समयमा स्वास्थ्य जाँच गरेर यस्ता समस्याबाट बच्न सकिन्छ ।जोर्नी दुख्ने समस्याको रोकथाम गर्ने र रोग मुक्तिका लागि प्रमुख उपायहरु यस प्रकारका छन् :

१. जीवनशैली: शरीरलाई असन्तुलित हुने किसिमले बस्ने, सुत्ने, कामधन्दा गर्ने र व्यायाम गर्ने गर्नु हुदैन । नियमित हल्का ढंगले शरीर संचालन गर्नु पर्दछ । समस्या भएकाले तोकिएका अभ्यास/थेरापी/कर्म/आसन गर्नु पर्दछ । निको नहुन्जेल गाह्रो काम गर्न तर्फ लाग्नु हुदैन । (जस्तै: घुडा खिइएकाहरुले थचक्क वा पलेटी कसेर बस्नु हुदैन, उकालो ओरालोमा धेरै भारी बोकेर हिडडुल गर्नु हुदैन, कुर्सीमा बस्नु राम्रो हुन्छ, चर्पी पनि कमोड प्रकारको भएमा बिरामीलाई सहज हुन्छ । त्यस्तै ढाड दुख्ने हरुले धेरै निहुरिने गर्नु हुदैन, अग्लो शिरानी राख्ने गर्नु हुदैन आदि ।)

२. खानपिन: सन्तुलित उपयुक्त आहार सेवन गर्नु पर्दछ।रोगलागेको छ भने चिकित्सकको सल्लाह अनुसार हानी गर्न सक्ने खाने कुराहरु बाट बच्नु पर्दछ।

३. तौल नियन्त्रण: अधिक तौल भएका व्यक्तिले तौल कम गर्ने उपाय अबलम्बन गर्नु पर्दछ  (जस्तै: खाने समयमा खानपिनको मात्रा केहि कम गर्ने आदि)।

४. दुर्घटना न्यूनीकरण: दुर्घटना कम गर्नमा सबैले आआफ्नो ठाउँबाट सजगता अपनाउनु आवस्यक भैसकेको छ जसको कारणले गर्दा दुर्घटना जन्य समस्याबाट हुने समस्या कम गर्न सकिन्छ ।

५. समयमै स्वास्थ्य सेवा लिने: समस्या भएका व्यक्तिले समयमै जाँच गरेर उपयुक्त उपचार गराएमा जटिलता बाट बच्न सकिन्छ र रोगलाई सजिलै निको पार्न सकिन्छ ।

 

पुनर्स्थापना:

केहि जोर्नी दुखाई सम्बन्धि रोग समयमै उपचार गर्दा सहजै निको हुन्छन ।कतिपय अवस्थामा जोर्नी समबन्धित समस्याबाट छुटकारा पाउन वा सहज जीवनयापन गर्न सक्ने बनाउन लामो समय पनि लाग्न सक्छ ।व्यक्तिलाई शारीरिक, सामाजिक, आर्थिक तथा कसैलाई भने मानसिक रुपले समेत नराम्रो असर पुग्नसक्छ।त्यसैले यस्ता समस्या भएका कतिपय व्यक्तिलाई लामो समयसम्म परिवारका सदस्य तथा समाजको पनि सकारात्मक सहयोगको खाचो पर्न सक्छ ।

 

*(स्रोत: जर्मनीको अनुसन्धान:https://www.sciencedirect.com/science/article/pii/S1063458418300827)

(बरिष्ट चिकित्सक डा. शिवराम खतिवडा  ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहिमा कार्यरत हुनुहुन्छ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया