पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्न सम्भव रहेको बताएका छन्। राजधानीमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका निर्वाचन एकैपटक गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए।
साक्षात्कारमा बोल्दै उनले भने,“सकारात्मक ढंगले छलफल गर्नुपर्छ । यो कुनै अमुक नेताले भन्नुपर्दा आतंकित हुनुपर्ने विषय होईन । निर्वाचन स्वतन्त्र, निर्भिक र मितव्ययी हुनुपर्छ । सहज र सरल अनि प्रभावकारी निर्वाचन गर्नुपर्छ । यसतर्फ हामीले सोच्नुपर्छ । सबै निर्वाचन प्रणालीको हकमा छलफल गर्नुपर्छ । गाली, गलौच गर्ने काम गर्नुहुँदैन् । सहमतिको विन्दुबाट जानुपर्छ ।”
तीनै तहको निर्वाचन एकैपटक गर्दा मुलुक र जनतालाई फाईदा हुन्छ कि हुँदैन् त्यसतर्फपनि सोच्नुपर्ने उनको भनाई थियो । उनले भने,“यो हुकुमसँग जोडिएको विषय होईन । एउटा पार्टीले गरेको छलफललाई अर्को पार्टीले टाउको दुखाउनुको कारण छैन् । अहिले बहुदलीय प्रणालीलाई फेल खुवाउने ष्यन्त्र भैरहेको छ । जनताले जुन अपेक्षा गरेको छ, सारमा त्यो हुन दिईएको छैन् । अस्थिरतामात्रै पैदा गरिएको छ । सत्तामा जसरी पनि टिक्ने खेल भैरहेको छ। यो कल्चरतर्फ हामी नजाऔं । जनताको मत जितौं । एकै चरणमा भएपनि निर्वाचन गर्नेबारे छलफल गरौं ।”
उनले संविधानको धारा ८५ ले संघीय संसदको कार्यकाल ५ वर्ष हुने भनेर व्यवस्था गरेको र संविधानको धारा १७७ ले प्रदेशको पनि ५ वर्ष नै तोकेको सुनाए । त्यस्तै, संविधानको धारा २१६ को ६ ले स्थानीय तहको पाँच वर्ष नै तोकेको र संविधानको धारा २२५ ले स्थानीय तहको अवधि तोकेको उनले सुनाए ।
उनले निर्वाचनको लागि आयोगले आफ्नो राम्रो होमवर्क गरोस भन्ने सुझाव दिए । उनले सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार भएको उल्लेख गर्दै देशको हितको कोणबाट छलफल गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनलाई संस्थागत गरेर अघि जाने कुरा नै ठूलो हुने र सानातिना विषयमा गालीगलौज गर्न नहुने उनको तर्क छ । उनले भने,“के गर्दा राम्रो हुन्छ ? यसमा छलफल हुनुपर्छ । सरकराले सबै दलसँग परामर्श गरोस । निर्वाचन आयोगसँग निश्कर्षमा पुगेर निर्णयमा पुगोस् ।”