शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सिसं २८ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।
प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शुक्रबार दीक्षान्त समारोहको आयोजना गरिएको हो। तालिममा तालिमरत नेपाली सेनाका १ जना महिला सहित ५९ जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना दीक्षित भए।
त्यस्तै मित्रराष्ट्र बंगलादेश, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का, मलेसिया, माल्दिभ्स, लेवनान, भारत, केन्या (महिला) र बेलायतबाट १/१ जना गरी १० जना विदेशी सहित जम्मा ७२ जना शिक्षार्थीहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दीक्षित भएका छन्।
सिसं १७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ९९ जना विदेशी शिक्षार्थीहरु दीक्षित भइसकेका छन्।

उक्त तालिमको ‘मास्टर्स इन स्ट्राटेजीक स्टडी –एमएसएस) प्रोग्राम’ विषयको सोधपत्र अर्थात् कमाण्डेन्टस पेपरतर्फ सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह सेनानी दिपचन्द्र केसी सर्वोत्कृष्ट शिक्षार्थी हुन सफल भएका छन्।
तालिममा सर्वोत्कृष्ट हुन सफल शिक्षार्थी सह सेनानी केसीलाई प्रधान सेनापति शर्माले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार प्रदान गर्नुको साथै दीक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो। सो अवसरमा उनले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने दि शिवपुरी जर्नल २३ औं संस्करणको विमोचन समेत गरेका थिए।
सोही क्रममा एमएसएस प्रोग्राम तर्फ प्रथम भएका शिक्षार्थीलाई त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाद्वारा प्रमाण पत्र र कमाण्डेटस पेपरतर्फ प्रथम भएका शिक्षार्थीलाई कलेजका शिक्षाधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरेका थिए।
