काठमाडौं – नेपाल प्रहरीका तीन एआईजीले दर्ज्यानी चिह्न लगाएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिह्न लगाएका हुन् । आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।
पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउनु हुने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा पदोन्नतिहुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्याउनुहुनेमा विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई एआईजीमा बढुवा गरेको थियो । बढुवा प्रक्रियामा असन्तुष्ट डीआईजीहरू भने निर्णय बदरको माग गर्र्दै सर्वोच्च अदालत पुगेका छन् ।
