काठमाडौं – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।
५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्रहरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्।
जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
त्यस्तै, सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।
