काठमाडौं – मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि सरकारले नेपाली नागरिक बेलायत पठाउने प्रक्रिया सुरु गरेको छ ।

बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार बेलायतमा नर्सलाई पठाउन लागिएको हो । मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताएका छन् ।

सांसदहरुले मन्त्री श्रेष्ठलाई श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार-सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

जवाफ दिँदै मन्त्री श्रेष्ठले सांसदहरुले उठाएका प्रत्येक प्रश्न र सुझाव अनुसार अगाडि बढ्न आफू प्रतिवद्ध रहेको बताए । मन्त्री श्रेष्ठले जापानमा रोजगारीका लागि रुमिक पठाउनका लागि छिट्टै प्रक्रिया अघि बढाइने पनि बताएका छन् ।

उक्त मस्यौदामा नेपाली नर्सको योग्यता, अध्ययनसँगै तालिम, अंग्रेजी भाषा र अनुभवलाई समेटिएको श्रम मन्त्रालयले जनाएको छ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६ अंक प्राप्त गर्नुपर्ने प्रस्ताव बेलायतले गर्दै आएको थियो।

तर, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ५.५ अंक ल्याए पनि मान्यता दिनुपर्ने अडान नेपालको छ। सोही अनुसार नै मस्यौदाको खाका तयार भएको श्रम मन्त्रालयले जनाएको छ।

नर्सिङ पढेका, अस्पतालमा काम गरिरहेका नर्सहरूलाई अनुभवका आधारमा लिइने छ। अन्तर्राष्ट्रिय भाषाको परीक्षा लिएर मात्र लैजाने गरी मस्यौदा तयार भएको छ। रोजगारीमा जाने नर्सको बेलायत जाने खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here