काठमाडौँ – अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा एसपीपीबारे छलफल भयो । छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा पनि बोलाइएका थिए ।
एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा पठाएको पत्रको चर्चा उक्त पत्र सार्वजनिक भएसँगै सुरु भएको थियो । पत्रमा लेखिएको हस्तलिखित मितिबारे प्रश्न उठेका थिए ।
सार्वजनिक चर्चामा रहेको पत्रको हस्तलिखित मितिलाई पूर्वउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समितिमा पनि उठाए । पत्रमा अन्य विवरण कम्प्युटर टाइप भएको र मिति भने हस्तलिखित भएको भन्दै उनले आशंका जनाए । उनले ‘हातले मिति किन लेखिएको हो, स्पष्ट पार्नुहोला’ भन्दै प्रधानसेनापतिलाई प्रश्न गरे ।
पूर्वरक्षामन्त्रीले नै प्रश्न उठाएपछि प्रधानसेनापति शर्माले जवाफ दिए । ‘टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन,’ उनले भने, ‘मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले मिति लेख्ने चलन छ हजुर ।’
प्रधानसेनापति शर्माले उक्त पत्र सेनाले आधिकारिक रुपमा पठाएको र त्यसको सक्कल प्रति साथै बोकेर आएको जानकारी गराएका थिए । बैठकको सुरुमा नै प्रधानसेनापतिले सक्कल प्रतिसमेत बोकेर आएको भनेपछि पनि पोखरेलले भने पत्रको आधिकारिकताबारे प्रश्न गरेका थिए ।
त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।
एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए ।
उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।
उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । उनले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’
उनले सरकारलाई लेखेको सो पत्र देखाउने पनि बताए । ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुदैन सेना त्यसको विपक्षमा रहेको छ’, उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ ।
अहिले सार्वजनिक भएको १० बुँदे सम्झौता झुटो रहेको र त्यो अहिलेसम्म नआएको भन्दै शर्माले सेनाले जहिले पनि सरकारसँग छलफल गरेर मात्र काम गर्ने गरेको प्रस्ट पारे ।
