काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे ।
जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बिदा सकिएपछि पोखरेलले थप दुई पटक बिदा मागेका हुन् ।
आईजीपी बढुवा विरुद्ध उनले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ भइरहेको छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १९ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।
बिदा अस्वीकृत भएको १६ दिनपछि घर ठेगानामा म्याद पठाउने कानुनी ब्यवस्था छ । प्रहरी नियमावली–२०७१ अनुसार स्थायी घर ठेगानामा सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र गैर हाजिर रहनुको कारण खुलाएर स्पष्टीकरण दिनुपर्छ ।
सूचना टाँस गरेपछि प्रहरी प्रधान कार्यालयले पत्रिकामा सूचना प्रकाशन गर्नका लागी गृह मन्त्रालयलाई लेखेर पठाउनुपर्छ । प्रहरी नियमावली–२०७१ को नियम ११३ अनुसार बिदा स्वीकृति नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएमा मन्त्रिपरिषद्ले सेवाबाट हटाउने व्यवस्था छ ।
तर, ४५ दिनभित्र घरमा म्याद तामेल गर्ने र पत्रिकामा सूचना प्रकाशन गरेर गैर हाजिर हुने प्रहरी अधिकृतलाई हाजिर हुन आउने अवसर दिनुपर्छ ।