अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच तीन घण्टा लामो भेटवार्ता समाप्त भएको छ। इन्डोनेसियाको बालीस्थित मुलिया होटलमा उनीहरुबीच वार्ता भएको थियो।
सी सोही होटेलमा बसेका छन्। सीसँग भेटपछि बाइडेन आफू बसेको ग्य्रान्ड ह्यात होटल फर्किसकेका छन्। जहाँ उनले पत्रकार सम्मेलन गर्दैछन्।
उनीहरुबीच पहिले तय भएकोभन्दा लामो समय वार्ता भएको हो। भेटमा बाइडेनले आफूहरु चीनसँग दृढतापूर्वक प्रतिस्पर्धा गरिरहेने तर सो प्रतिस्पर्धाले द्वन्द्वको रुप लिन नहुने स्पष्ट पारे।
त्यस्तै बाइडेनले युक्रेनमाथि रुसी आक्रमणको कुरा उठाउँदै आणविक युद्ध हुन नहुने उल्लेख गरे। जसमा समर्थन जनाउँदै सीले युक्रेन मामिलामा अमेरिका र पश्चिमा मुलुकहरुले रुससँग वार्ता गर्नुपर्ने बताए।
त्यसबाहेक उत्तर कोरिया, ताइवानका विषयमा पनि कुरा भएको जनाइएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने पनि तय भएको बताइएको छ।
बाइडेनले समकक्षी सीसँग इमान्दार संवादका लागि आफू तयार रहेको भन्दै अवसरका लागि धन्यवाद पनि दिएका छन्।
‘हामीबीच नियमित आपसी संवाद जरूरी छ। म यो अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।
यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू पनि रहेको बताएका छन्।
दुई मुलुकबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा सीले राखेका छन्। ‘अमेरिका र चीनबीचको स्थिर सम्बन्धको लाभ दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै पुग्नेछ। म दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि सहकार्य गर्न तयार छु,’ सीले भनेका छन्।
सन् २०११ मा सी र बाइडेन दुबैले उपराष्ट्रपतिको हैसियतमा चीनको छेन्दुमा भेट गरेका थिए। त्यसयता उनीहरूबीच टेलिफोन तथा भिडिओ कन्फ्रेन्समार्फत् संवाद भएका थिए।
बाइडेन राष्ट्रपति भएपछि पाँचपटक सीसँग भर्चुअल संवाद गरेका थिए। बाइडेन राष्ट्रपति भएपछि सी र उनीबीच पहिलोपटक भौतिक रूपमा संवाद भएको हो। भर्चुअल संवादमा सीले ताइवानमा अनावश्यक हस्तक्षेप नगर्न बाइडेनलाई चेतावनी दिँदै आएका थिए।
‘आपसी सहकार्य गरे दुबै मुलुकलाई हित छ। अनावश्यक हस्तक्षेपमार्फत् द्वन्द्व निम्त्याउन खोजे दुबैका लागि घातक छ,’ सीले गत वर्ष फेब्रुअरी १० मा बाइडेनलाई भनेका थिए।
अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ।
दुबै मुलुकका राष्ट्रपतिले आपसी सहकार्यका लागि तयार भएको भन्दै निकैबेर हात मिलाउँदै राम्रो हाउभाउ प्रस्तुत गरेका छन्।
