प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्।
आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्।
नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आएका छन्। यद्यपि, अब गठन हुने सरकारको नेतृत्व लिनका लागि उनले आफ्नै दलभित्र संसदीय दलको नेता चुनिन पर्ने हुन्छ।
संसदीय दलको नेता चयनमा सभापति देउवाका लागि महामन्त्री गगन थापा चुनौतीका रुपमा देखिएका छन्। काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले अब प्रधानमन्त्रीका लागि दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।
२०४८ को प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ५७० मत प्राप्त गर्दै देउवाले संसदीय यात्राको सुरुवात गरेका थिए। उक्त निर्वाचनमा उनका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले ६ हजार ६२८ र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए। निर्वाचन आयोगका अनुसार ७५ हजार ७८ मतदातामध्ये ३७ हजार २३७ मत खसेको थियो भने ३४ हजार ७७८ मत सदर भएको थियो।
निर्वाचन आयोगका अनुसार २०५१ को आमनिर्वाचनमा ७८ हजार ५५३ मतदातामध्ये ३४ हजार ८४६ मत खसेको थियो। ३३ हजार ५२३ सदर मतमध्ये देउवा २० हजार ७०१ का साथ सांसद बनेका थिए। उनका प्रतिस्पर्धी नेपाल जनवादी वाममोर्चा (नेजवामो) का खेमराज भट्ट ‘मायालु’ ले ९ हजार ९६६, राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए।
२०५६ को आम निर्वाचनमा भने प्रधानमन्त्री देउवाले एमालेका बागेश्वरी चटौतलाई भारी मतान्तरले पराजित गरेर ‘ह्याट्रिक’ गरेका थिए। देउवाले २८ हजार ६५१ मतसहित जित्दा एमालेका नेता चटौत ७ हजार ८४० मा सीमित भएका थिए। तेस्रो भएका राप्रपा चन्दका नेता गणेशप्रसाद भट्टले ४ हजार ८९३ मतमा चित्त बुझाउनु परेको थियो।
२०६४ को संविधान सभा निर्वाचनमा भने देउवा झिनो मतले विजयी भएका थिए। देउवा २० हजार ५२९ मत ल्याएर संविधान सभा सदस्यमा विजयी हुँदा तत्कालीन नेकपा माओवादीका नेता खगराज भट्टले १९ हजार १६१ मत ल्याएका थिए। एमाले उम्मेदवार विक्रमबहादुर शाहीको ७ हजार ९८२ मत आएको थियो।
दोस्रो संविधान सभा निर्वाचनमा पनि तत्कालीन एकीकृत नेकपा माओवादीले भट्टलाई नै देउवाविरुद्ध चुनावी प्रतिस्पर्धामा उतारेको थियो। तर, उनी दोस्रो पटक पनि झण्डै दोब्बर मतअन्तरले पराजित भएको थियो।
देउवाले २३ हजार ९२० मत ल्याउँदा भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए। तेस्रो भएका एमालेका नेता ताराप्रसाद जोशीको ७ हजार १९० मत आएको थियो।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेकपा माओवादीका नेता भट्ट नै देउवाको निकटतम प्रतिस्पर्धी रहे। देउवा २८ हजार ४४६ मतले प्रतिनिधि सभा सदस्य बन्दा भट्टको २१ हजार ४९८ मत आएको थियो। उक्त निर्वाचनमा उनलाई एमालेले सघाएको थियो।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डडेल्धुरामा अझै पनि कांग्रेसको बलियो उपस्थिति देखिन्छ। निर्वाचन आयोगको मतपरिणामले डडेल्धुरामा कांग्रेसको पक्षमा २१ हजार ७३५, माओवादी केन्द्रको पक्षमा १२ हजार ८७८, एमालेको पक्षमा १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको पक्ष्मा ५ हजार ४१, राप्रपाको पक्षमा ७१४ र जनता समाजवादी पार्टी ९जसपा० को पक्षमा १५६ मत छ।
