काठमाडौं – काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। उनी ८७४३ मत ल्याएर विजयी भएका हुन्।
पराजुलीले निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेभन्दा झण्डै दुई हजार मतान्तर कायम गरे। घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्। गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरिन्।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मतका साथ विजयी भएका हुन् ।
श्रेष्ठका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८ सय ८० मत पाएर पराजित भएका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठले ४ हजार ८ सय ७७ मत पाएका छन् भने राप्रपाका प्रकाश रिमाल ४ हजार ५ सय २२ मतमै खुम्चिएका छन् । त्यस्तै नेकपा एमालेका शिव सुन्दर राजवैद्यले ३ हजार ५ सय २२ मत मात्र पाएका छन् ।
त्यस्तै, काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन्।
२७ वर्षीया अधिवक्ता सोविता गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् ।
नेपाल युवा संस्था सञ्जालको निवर्तमान वोर्ड सदस्य रहेकी सोविताले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कानुनी सल्लाहकार भएर काम गरेकी छन्।
