काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्ट तेस्रो स्थानमा छन्। उनले ८ हजार ७ सय ३६ मत पाएका छन्।
यहाँ विजेताको घोषणा भने हुन बाँकी छ। प्रत्यक्षतर्फका केही मत समानुपातिक बाकसमा खसेको हुनसक्ने भएकाले समानुपातिक मत गनिसकेपछि मात्र घोषणा गरिने घिमिरेले बताइन्।
को हुन् केसी ?
के.सी.को जन्म २०१५ सालको असार २८ गते काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको हो । पदमबहादुर र टोलकुमारी केसीका छोरा राजनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
२०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय हुनु भएका केसी २०४९ सालमा चोभार गाविसको अध्यक्षमा विजयी बने ।
२०५४ सालमै उनी जिल्ला विकास समिति काठमाडौंको सदस्य बने । २०५४ सालकै स्थानीय चुनावमा नगर समितिको सभाषदमा विजयी भएका थिए ।
२०५१ र २०५६ सालमा पार्टीको क्षेत्रीय सभापति भएका केसी ४ पटक महासमिति सदस्य सकेका छन् ।
