नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन् ।
कांग्रेस र माओवादी चुनावी गठबन्धनमा रहेका बेला गगनले घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर माओवादीलाई हराएको सापकोटाको आरोप छ ।
उनले अहिले आइरहेका परिणामलाई स्वीकार गर्ने पनि बताएका छन्। ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो,’ उनले भनेका छन्।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईको पुस्तक विमोचनमा भनेका थिए – म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाईं र तपाईंको टीमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ! हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौं तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’
