काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ७ की नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले निर्वाचनले आफूलाई अनुभव बटुल्ने र शिक्षा लिने अवसर दिएको बताएकी छिन् । बुधबार बिहान सम्पन्न मतपरिणामअनुसार काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका हुन् ।
पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् । मानुषीले ६ हजार ६३ मत ल्याएकी छिन् ।
मानुषीले सामाजिक सञ्जालमा विजयी उम्मेदवार पराजुलीलाई बधाई दिँदै लेखेकी छिन्, ‘यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें ।
आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गर्दछु । यस दौरान थुप्रै नयाँ साथीहरू, सम्बन्धहरू बने । यी सबैलाई आगामी दिनहरूमा पनि जीवन्त रखिरहनेछु । काठमाडौं-७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्यमै रहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ ।’
