नेकपा एमालेले प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटाएको छ । नेपाली कांग्रेससँग ४८ हजारभन्दा बढी मतको अग्रतासहित एमालेले १० लाखको आँकडा पार गरेको हो ।
निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ ।
पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ । जसपा नेपाल भने एक लाख २८ हजार ३५ मतसहित छैटौँ नम्बरमा छ ।
सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ। यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ।
दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ।
मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।
तर अझै झन्डै ७० लाख मत गन्न बाँकी रहेकाले सिट बाँडफाँटबारे निर्क्यौल गर्न सकिँदैन।
